नारी अबला या सबला : एक नयाँ दृष्टिकोण
SHARE:
नारी अबला या सबला : एक नयाँ दृष्टिकोण (जानकी शर्मा)
नारी अबला या सबला : एक नयाँ दृष्टिकोण
- जानकी शर्मा
शिक्षक, दुर्गालक्ष्मी मा. वि.
विश्वका रचनाकार परमात्माले जब विश्व सृजना गरे, त्यतिखेर नारी र पुरुष दुबै वर्गलाई समान डिग्रीहरू दिएर, सृष्टिचक्रको बेहद विश्व घरको नाटक रंगमञ्चमा पठाए। ती डिग्रीहरू निम्न अनुसारका थिए: सोह्र कला सम्पन्न, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम, डबल ताजधारी, डबल अहिँसक अर्थात् अहिँसा परमोधर्म। यी डिग्री प्राप्त नारी र पुरुषलाई देवी-देवता नाम दिए। उनीहरूको धर्मको नाम नै “आदि सनातन देवी-देवता धर्म” राखे। यही धर्ती जसलाई आजसम्म पनि भारतवर्षे, भारतखण्डे… भनेर मन्त्रोच्चारणमा सर्वप्रथम आउँछ, जहाँ ती देवी-देवताहरू रमण गर्थे। जहाँ सम्पूर्ण सुख, शान्ति र आनन्द थियो। अप्राप्त कुनै वस्तु थिएन, दुःख के हो? यसको ज्ञानसम्म पनि थिएन। विश्वको नक्सामा अफगानिस्तानदेखि तत्कालीन अखण्ड भारत नेपाल हुँदै सुदूरपूर्वमा तिब्बतसम्मको भूभागलाई अखण्ड र अविनाशी भूमि मानिएको छ। यस अखण्ड अनि अविनाशी भूमिलाई अहिलेका धर्मशास्त्र पल्टाएर हेर्यौ भने सबैमा अत्यन्तै सुन्दर अनि व्यवस्थित ढंगले व्याख्या गरेको पाइन्छ। हिन्दू धर्मका धर्मशास्त्रमा स्वर्ग, वैकुण्ठ भनिएको छ। बाइबल पल्टाएर हेर्यौ भने प्याराडाइज भनेर उल्लेख गरिएको छ, त्यतिमात्र होइन क्राइष्ट आउनुभन्दा तीन हजार वर्ष पूर्व प्याराडाइज थियो त्यसैलाई हेभन भनेर लेखिएको छ। कुरानमा अल्लाहको बगैचा भनेर प्रष्ट लेखिएको छ। कसैले सृष्टिचक्रको आदिकालको त्यो समयलाई गार्डेन अफ फ्लावर भने त कसैले सुखधाम भने। कसैले जन्नत भने त कसैले अमरलोक पनि भने किनकी त्यो बेलाका देवी देवताहरू सम्पूर्ण आयु जिउँथे, मृत्यूको कुनै भय थिएन्। आयु पूरा भएपछि नयाँ जन्मको साक्षात्कार हुन्थ्यो र पुरानो देह त्याग गरी नयाँ शरीर धारण गर्ने भएकोले मृत्यूको शोक मनाउने नभइकन जन्म उत्सव मनाउने परम्परा थियो।
उपर्युक्त पाँच डिग्रीहरू प्राप्त देवीदेवताहरूमा पनि प्रथम पूजनीय स्थान देवीहरूको नै थियो। त्यसैले देवीको नामसँगै जोडिएर देवताको नाम आउँछ - राधा कृष्ण लक्ष्मी नारायण, सीता राम। ती देवीहरूले यस्तो के पुरुषार्थ गरेका थिए र प्रालब्ध स्वरूप प्रथम पूजनीय स्थान प्राप्त गरे? केवल पतिको नामको अगाडि पत्नीको नाम मात्र होइन पुत्रको नामको अगाडि पनि माताकै नाम लेखिएको धर्मशास्त्रहरूमा भेटिन्छ। गङ्गापुत्र भीष्म कुन्तीपुत्र अर्जुन…। आजसम्म पनि बडा बडा धर्माचार्य महामण्डलेश्वर र शङ्कराचार्य आदि पुरुष देहधारीको नामको अगाडि विद्याकी देवी सरस्वतीको नाम आउँछ। त्यति मात्र होइन सक्ति स्वरूपा देवीहरूको आह्वान गर्दै वर्षभरिमा दुईपटक नौ नौ दिनसम्म देवी भगवती नवदुर्गाको पूजा हुन्छ। त्यसमा पनि विशेषगरी “या देवी सर्वभूतेषू…” भन्दै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ।
सृष्टिको सुरुवातदेखि आधाकाल्पसम्म सम्पूर्ण देवी सत्ता अथवा मातृसत्ता थियो। नारीको निर्देशन र सल्लाह बमोजिम सामाजिक नियम र मर्यादा कायम हुनाले उक्त समयमा यही धर्तीमा स्वर्ग थियो, सम्पूर्ण सुख थियो, पवित्र गृहस्थ आश्रम थियो। पवित्रतालाई सुख र शान्तिको जननी भनिन्छ। त्यसैले यही धर्ती शिवालय थियो र त भनिएको होला “यत्र नार्यैस्तु पुज्यन्ते रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीहरूको सम्मान हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन्।
डा. स्वामी प्रपन्नचार्यले लेखेको “वेदमा के छ?” पुस्तकको पेज नम्बर ६९ मा “वैदिक नारी शिक्षा” शीर्षकमा निम्नानुसार उल्लेख छ -
(विनोबाको शब्दमा भन्ने हो भने “न विद्यते बलं यस्यां सा अबला” होइन, अपितु “अशेषेण परिपूर्ण रूपेण बलं विद्यते यस्यां सा अबला” सम्पूर्ण देवगणहरुदेखि लिएर सबलाई आफ्नो वशमा राख्न सक्ने बल जसमा छ, उही अबला हो। अनि ती महिला समाज ऋग्वेद कालमा हामी पूर्ण विकासका स्वरूप पाउँछौ। जुन नारीहरुलाई आज आजभन्दा सय सालपहिला ‘स्त्रीशूद्रौनाधीयाताम्’ भनेर स्त्रीवर्गले र शुद्रवर्गले वेद नपढ्ने आदेश कतिपय व्यक्तिहरूले दिन्थे। अनि नारीवर्गले र शुद्रहरुले नपढ्ने भन्ने प्रमाणहरु स्मृति पुराण आदिबाट धेरै प्रस्तुत गर्दछन्। तर मूल वेदहरूको अध्ययन गर्दा निषेधको अवकाश देखिन्न बरु विधि प्रबल देखिन्छ। ऋग्वेदमा त ऋचा सञ्चय गर्ने ब्रह्मवादिनीहरूको अस्तित्व समाजको गौरवमा भरेको देखिन्छ। शतपथब्राह्मणमा योगीवर याज्ञवल्क्य सँग, ‘यनाहं नातृतं स्यां तेन किमहं कुर्याम्’ भनेर धर्तीमाथि र आकाशमुनि आनन्त्यको प्रश्न गर्ने पनि आर्यावर्तका गौरवपूर्ण महिला नै हुन्। स्वयं याज्ञवल्क्यलाई भन्नुपर्यो ‘अरे मैत्रेयी यो वै भूमा तत्सुखं नाल्प सुखमस्ति’ यो नित्य आत्मा नै सुखस्वरूप छ। दृश्यमान प्रपञ्च अनित्य छ र जसलाई प्यारो गर्छौं अथवा जसले प्यारो गर्छ त्यसले अवश्य रुवाउँछ। घरका कुमारी र वासनाको शिकार मात्रै भएका भए, यी प्रश्न कसरी गर्न सक्थे र? किनकी त्यसबाट उनको मात्रै अलिकति प्रकाश हुन सक्छ। जनकको राजसभादेखि लिएर समस्त आर्यवर्तमा गार्गी जस्ता विदुषीलाई सन्तोष गर्ने व्यक्ति पुरूषत्त्वाकारमा मिलेन र याज्ञवल्क्यले जिज्ञासा शान्त गरिदिए। फेरि पनि शान्त नभएर याज्ञवल्क्यलाई बिसन्चो हुनुपर्यो । ‘यत्र नार्यस्तु पूञ्यन्ते रमन्ते तत्र देवता:’ मनुको उद्गारमा भृगुले पनि भन्नुभयो - के शिक्षा नपाइकन यो कुरा सम्भव छ? नारी शिक्षामा वैदिक युगमा आजभन्दा कुनै प्रकारले कमी थिएन। फेरि ती नारीहरुले आमा बन्ने अवसर पाए, बालकको जन्म, बाल्यकालदेखि लिएर शिक्षाकालसम्म आमासँगै बित्छ। अनि ‘मातृ-समो गुरुर्नास्ति’ भनेर सबैभन्दा ठूलो गुरुको महत्व दिएको पनि पाउँछौं। त्यसो हुँदा अवश्य नै कतिपय व्यक्तिले मध्यमा कुनै कारणवश स्त्री शिक्षामा वेदाध्य्यनलाई निषेध गरे। तर यो साह्रै न्याय भएन किनभने जसले भान्सा बनाएर पस्केर खुवाउन सक्छ भने के आफैले खान सक्दैनन् र? अवश्य पनि खाने अधिकार छ।
ऋग्वेदमा यस्ती विदुषी नारीहरूको स्वभाव व्यक्त गरेर ऋचार्दर्शी र संग्रह गर्ने अनेकौं प्रमाण पाउँछौं। त्यसो हुँदा यस अनुसार भावनाको जन्म, पछि भएको हो भन्ने कुरा स्पष्ट छ। सायणाचार्यले यत्रतत्र ‘मन्त्र दर्शी ऋषिका’ भनेर पूर्वपिठीका भाष्यमा वर्णन गरेका छन्। सावितृसताका ऋचासंग्रह र भावहरूलाई हेर्दा अत्यन्त भावुक पारिदिन्छ। ऋग्वेदको दशौँ मण्डलको ८५ सुक्तको ४७ ऋचालाई स्वामानुभूतिबाट प्रकाशित गर्ने ऋषिका ब्रह्मवादिनी सूर्या थिइन्। ऋग्वेद प्रथम मण्डलको १२६ सूक्तको ७ ऋचाको सङ्कलन गर्ने ब्रह्मवादिनी रोमाशा हुन्। ऋग्वेद अष्टम मण्डलको प्रथम सुक्तको ३४ ऋचा संकलन गर्ने ब्रह्मवादिनी शाश्वती हुन्। ऋग्वेद दशम मण्डल १२५ सूक्तमा देवीसुक्तको नामले ८ मन्त्र प्रसिद्ध छन्। यसमा कतिपय आधुनिक कुराहरु पनि छन्। यी मन्त्र साक्षात् वाणीस्वरूपा वाक् नाम गरेकी ऋषिकाले संग्रह गरेको हो। ऋग्वेद अष्टम मण्डल ९१ सूक्तको १ देखि लिएर ७ ऋचा प्रसिद्ध ब्रह्मविदुषी अपालाको भाव हो। प्राय: जनसामान्यहरूमा पनि अपाला, गार्गी र मैत्रेयी प्रसिद्ध विदुषीहरू हुन्। । त्यसमा पनि अपाला त मूल ऋग्वेदमा प्रविष्ट छ। गार्गी र मैत्रेयी उपनिषद्हरूमा छन्। यस रीतिले ऋग्वेद पञ्चम मण्डलको द्वितीय अनुवाक्को ६ ऋचा वेदवादिनी विश्ववाराले देखेकी हुन्। ऋग्वेदीय प्रमाणहरूबाट नारी समाजलाई पूर्ण वेदाध्ययन गर्ने अधिकार बुझिन्छ। पहिले ‘मातृसत्तात्मक’ जगत थियो। यत्रा शिक्षित ब्रह्मविदुषी र सामाजिक क्षेत्रमा पुरुषवर्गसँग दाँजो मिलाएर काम गर्ने महिलाहरु जङ्गली आइमाई थिएनन्, न सबैसँग यौन सञ्चार गर्दथे। यो त हिजो अस्तीको केटाकेटीको कल्पना मात्रै हो। पेज ७०)
सृष्टिको आधाकल्प बिते पश्चात् समाज बिस्तारै पितृसत्तातर्फ उन्मुख हुँदै आजको समाजमा सबैभन्दा ठूलो अभिषाप यही हो कि नारीको गर्भबाट जन्म लिनेवाला नर, आमालाई पूज्य सम्झिने वाला नर समाज, नारी शरीरलाई भोग दृष्टिले हेरिरहेको छ। नारीको सबैभन्दा ठूलो अपमान यही नै हो कि पुरुष समाजले उसलाई भोग विलासको साधन सम्झेर ऊसंग मनचाहे रीतिले अमानुषिक व्यवहार गरिरहेको छ। त्यस खेललाई एक व्यापार सम्झेर नारीलाई त्यस खेलको खेलौना सरह क्रय-विक्रय गरिरहेको छ। नारीको नग्न र अर्धनग्न रूप, नाइट क्लब तथा अनेकौं स्थानमा व्यापारिक रूपले प्रदर्शित गरिँदै आएको पाइन्छ। पशुको मासु सदृश्य नारीको मासुको पनि खुलेआम क्रय-विक्रय भइरहेको छ। नारीको शील बीच बजारमा रुपियाँ पैसामा बिक्री भइरहेको छ। चलचित्रमा नारीको यस विकृत स्वरुपलाई बढावा दिदै आइरहेको छ। व्यापारीक विज्ञापनहरुमा, व्यापारिक प्रतिष्ठानहरूका साइनबोर्डहरुमा, उपन्यास र पत्र पत्रिकाका मुख्यपृष्ठहरुमा, सामाजिक सञ्जालमा पनि नारीलाई यस्तै अपमानजनक रूपमा विना रोकावट प्रस्तुत गरिदै आइरहेको छ। ‘विवाह’ लाई पनि पुरुष समाजले एक यस्तो अधिकार पत्र ठान्ने गरेको छ जसमा नारीको इच्छा, अनिच्छा, स्वास्थ्य आदि कुनै पनि प्रतिबन्धबाट मुक्त उसको शरीरको साथ मनइच्छित खेलवाड गर्न सक्छ। सबैभन्दा ठूलो खेदको कुरा यहि हो कि नारीहरुले न त यस अपमानको प्रतिरोध गरिरहेका छन् बरु स्वयं आफ्नो शरीरको प्रदर्शन पनि यस्तै रुपमा गरिरहेका छन् कि उनीहरूले पुरुषहरूमा आकर्षण पैदा गर्न सकुन्। आज नारीहरूका वस्त्र अथवा पहिरन पनि यस्ता प्रकारका छन् कि उनीहरूको शरीरको अधिकांश अङ्ग, अथवा शरीरका मासुले ग्राहकको दृष्टिलाई आकर्षित गरिरहोस्। यस्तो लाग्छ कि उनीहरुले स्वयं आफ्नो मासुको जानेर हो वा अन्जानमा व्यापार गरिरहेकी छिन्। जसले गर्दा हामी देख्ने वाला पनि नारीको अपमान भइरहेको जस्तो लागेता पनि ती नारीहरुले स्वयं आफ्नो सम्मान ठानिरहेका छन्। यस विचारधारामा क्रान्तिकारी परिवर्तनको आवश्यकता छ।
नारीहरुलाई पुरुषहरूको समान दर्जा त के काम चलाउ सम्मान पनि तब सम्म समाजमा मिल्नेवाला छैन जबसम्म समाजमा नारीहरुले आफ्नो निज अस्तित्वको विषयमा एक नव-चेतना जागृत गर्दैनन्। नारीले यही सोच्नुपर्छ कि आफ्नो समझको आधारले पुरुष समाजलाई सम्झाउन सक्नुपर्छ - नारी वाह्य आवरणको खोल ओढेका खेलौना होइनन् बरु एक “शक्ति” हुन्। यस्तो त भावनात्मक आधारमा मात्रै सम्भव हुन सक्छ। बौद्धिक र नैतिक जीवन नै नारीको जीवन हो। आफूलाई शरीर मान्नुले नै नारी अबला बनेकी हुन्। यदि उनले आफूलाई मन, बुद्धि र संस्कारले भरिपूर्ण शुद्ध आत्मा सम्झेको भए तथा आत्मस्मृतिमा स्थित भएर जीवन पथमा हिँड्न सकेको खण्डमा मात्रै आफ्नो सच्चा शक्ति स्वरूपको अनुभव हुन्छ। नारी अबला नभएर पुरुषलाई पनि आत्मिक बल प्रदान गर्ने वाली बन्न सक्छिन्। उनी स्वयंलाई र समाजलाई पनि यही आभाष हुनेछ कि नारी “भोग्य” वस्तु होइन बरु “पूज्य” देवी हुन् जसको पूजा आज सम्म पनि भारतवर्षमा दुर्गा, सरस्वती र लक्ष्मीको रुपमा भइरहेको छ। प्रत्येक नारीले यही रूपलाई धारण गर्नुपर्छ र उनले गर्न सक्छिन् किनकी उनी स्वयं उनैकी रुप हुन्।
कसले भन्न सक्छ कि नारी अबला हो? जसले बडाबडा चक्रवर्ती र छत्रपतिहरुलाई आफ्नो राख्न राखेर पालनपोषण गर्यो र उनीहरूलाई संस्कारी बनायो, जुन आमाले करोडौं व्यक्तिको मनमा शासन गर्नेवाला ध्रुव, बुद्ध, शंकराचार्य, ईशा मसीह, महात्मा गान्धी जस्ता पुरुषलाई धर्मको पहिलो पाठ पढायो, जुन माताले श्रीकृष्ण र श्रीराम जस्ता देवतालाई जन्म दिइन ती मातालाई “अबला” कसले भन्न सक्छ? शताब्दीदेखिनै “अबला, अबला” भनेर नरले नारीलाई साच्चिकै अबला नै बनाइदिए। नत्र त नारी आफ्नो वास्तविक स्वरूपमा “शिव शक्ति” हुन् र देवी हुन्। आध्यात्मिक दृष्टिकोणले त हरेक आत्मा “पुरुष” र शरीर “प्रकृति” हो। अत: आफ्नो लक्ष्यलाई बुझेर जानेर त्यसको प्राप्तिको लागि पुरुषार्थ गर्ने वाली नारी पनि “पुरुष” नै हो। त्यसैले ओ माता! तिमीले आफ्नो शुद्ध स्वरूपलाई पहिचान गरी स्वयंलाई सबला मान्दै आफ्ना कर्तव्यरूपी शस्त्र उठाएर ललकार गर कि तिमी अबला होइनौ, कल्याणी हौ, अब तिमी जगदम्बा समान कल्याणी बन।
नरले नारीलाई “अबला” भन्नु यो त घोर अनर्थको कुरा हो। नारीलाई “नर्कको द्वार” भन्नु यो त अन्धकार हो। नारीलाई “विषयकी खेलौना” सम्झिनु यो त अन्यन्तै पापाचार हो। यो त मानवतामाथि नै धिक्कार हो, कलंक हो। नारीले अब अनुसुइया बन्नु छ। ब्रह्मा, विष्णु, शंकरले पनि जसलाई “माता” भनेर सम्बोधन गरे, तिमीले त्यस्ती तपस्विनी बन्नु छ। तिमीले योगाग्नि (ध्यान) की ज्वाला बन्नु छ। नर्ककी द्वार भन्ने वाला अपकारीहरुलाई पनि ज्ञान द्वारा उपकार गरेर तिमीले जगतकी उद्दारक बन्नु छ। अहिले यो सृष्टिरुपी बृहत घरमा घोर अज्ञान अन्धकार बाहेक अरु केही छैन। अब नारी शक्ति (आत्मा ज्योति) जागृत गरी अन्धकारलाई मेटाउनु छ।
“तमसो मा ज्योतिर्गमय…” केवल मन्त्र उच्चारण गरेर मात्रै केही पनि हुनेवाला छैन। आज मनुष्य आत्माभित्र काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या, द्वेष, घृणा, हिंसा आदि आसुरी लक्षणले विश्वमा उत्पात मच्चाइरहेकोले पीडित संसार त्राहि-त्राहि गरिरहेको छ। त्यसैले अब नारी शक्तिले आँखाले देख्न नसकिने तर हरेक मानवभित्र लामा लामा दाह्रा, तिखा नंग्रा र भयावह सिँह भएका यी असुरहरूलाई शक्ति स्वरूपा दुर्गा बनेर यी आसुरी प्रवृतिको विनाश गर्नु छ। के आजका नारीले यस्तो घोर पतन तथा अकल्याणको स्थिति देख्न सक्छिन् ? अब उठ्ने बेला आइसक्यो उठ जाग नारी शक्ति “शिवशक्ति” बनेर पवित्रता धारण गरेर धवला सरस्वती समान बन। कमल फुल समान हिलोबाट अलग जीवनरुपी आसनमा स्थित भएर शिवको स्मृतिमा ध्यानमग्न भएर तपस्विनी बनेर सबैलाई वरदान दिनेवाली वरदानीमूर्त बन।
कालीद्वारा महिषासुर, रक्तबीज, त्रिपुरासुर आदि असुरहरूको संहार गरेको गायन आज पनि छ। केटी असुरहरु भयावह आकृतिवाला कुनै विशेष जाति वा व्यक्ति थिए र? “महिषा” त अविवेकको अथवा मन्दबुद्धिको प्रतिक हो। त्यसको कालोपना मनोविकारहरुद्वारा एकीकृत भएको कालीमाको द्योतक हो र उसको हातमा शस्त्र भनेको आत्मालाई दुःख दिने वाला प्रभावको संकेतक हो। “रक्तबीज” नाम नशा नशामा रगतका हर थोपा थोपामा बसेको आसुरियताको बोधक हो अर्थात् क्रुर दुर्गुणहरूको परिचायक हो। यस्ता आसुरीयता आज हाम्रो देशको संघ, प्रदेश र स्थानीय तहसम्म पूर्णरुपमा फैलिसकेको छ। अतः यस्ता आसुरीयताको अन्त गर्नु नै महिषासुर, रक्तबीज, त्रिपुरासुर आदि असुरहरूको संहार गर्नु हो। यी आसुरी प्रवृत्तिलाई कालको गास बनाउने वाली अर्थात् यिनीहरूलाई मारेर नाम निशान मेटाउने वाली नै “काली” हुन्। आज हर नारीले कालिकाको स्वरूपलाई जागृत गर्नु आवश्यक छ।
शक्ति स्वरूपा देवीलाई केवल भोग्या सम्झेर वासनाको तृष्णाबाट तृप्त हुन नपाउँदा कालिदासले “ढोल, पशु, गँवार, नारी यी चार हुन् ताडनकी अधिकारी” भनेर लेख्न पछि परेनन्। आदिकवि भानुभक्त आचार्यले “बधु शिक्षा” नामक पुस्तकमा नारीलाई बन्धनमा बाँध्ने कुनै शब्द लेख्न बाँकी छोडेनन्। तर नारीले हदलाई र संकीर्णतालाई छोडेर विकारहरूबाट मुख मोडेर स्वयंलाई जगतकी माता सम्झिनुपर्छ। के लाखौं करोडौं व्यक्तिहरूको क्रन्दन आजका नारीको कानमा गुञ्जिँदैन? “माँ, ओ ज्योतियो वाली माँ…” के यस्तो पुकार आजका नारीले सुन्दैनन्? बच्चाहरुले रातभरी जागरण गरेर तिमीलाई पुकार्दै जय जयकार गरिरहेको बेला तिमीलाई निद्रा कसरी लाग्न सकेको? अब उठ, जाग पहिला आफ्नो ज्ञानको ज्योति जगाऊ। स्वयंले जगत माताको रूप धारण गरेर मनोविकारमाथि विजय प्राप्त गरेर भक्तहरुलाई आफ्नो दैवी स्वरूपको साक्षात्कार गराऊ। ओ माता! अब तिमीले कल्याणी बन्नु छ। के तिमी यही त सोचिरहेकी छौ कि “ज्योतियों वाली माता” कोही अरु नै हुन्? कसलाई पो पुकारेका हुन्? कमल पुष्प निवासिनी, वीणा वादिनी, असुर संहारिणी देवी स्वरूपा तिमी आदिकालमा थियौ, के तिमी अहिले उही होइनौ र? वास्तवमा तिमीलाई आफ्नो मातृ स्वरूपको विस्मृति भएको परिणाम स्वरूप नै आज जगतको यो हाल भएको हो। अब उठ नारी हो आफ्नो स्वरूपलाई पहिचान गर। वीणा हातमा लेऊ र जगतलाई ईश्वरीय विद्याद्वारा मधुर गीत सुनाएर आनन्द विभोर गराइदेऊ। ओहो ! तिमी देवी होइनौ भने पनि उनकी सन्तान त हौ नि? के हाँसको सन्तान हाँस र कोइलीको सन्तान कोइली नै हुँदैन र? वास्तवमा तिमी देवी र देवताकै वंशज हौ त्यसैले त नारीको नाममा “देवी” शब्दको प्रयोग हुन्छ। वास्तवमा तिम्रो आदि स्वरूप देवी नै हो, तिमीले आफ्नो वास्तविकता (असल) र वंश (नसल) लाई पहिचान गर। अज्ञानताको निन्द्राबाट बिउँझेर ज्ञानको ज्योति बालेर जन-जनको आत्मिक ज्योति जगाऊ।
नारी! तिमी त शिवशक्ति स्वरूपा हौ। “शिव” को हुन्? जसले सबैको कल्याण कसले गर्छ? जो स्वयं सदा कल्याण स्वरूप छ, सदा सर्व बन्धनबाट मुक्त छ, ज्ञानको सागर, शान्तिको सागर, आनन्दको सागर एवं परम पवित्र छ, जो सर्वशक्तिमान हो, सर्वोच्च सत्ता हो, जो सर्वज्ञ छ, जो सर्वोपरि छ, जो सर्वधर्ममान्य छ उ नै शिव हो। ‘रुपमा विन्दू गुणमा सिन्धु’ यी सबै गुण त एक परमपिता परमात्माका नै हुन्। त्यसैले परमपिता परमात्माको नाम नै “शिव” या “सदा शिव “ हो। जसले परमपिताको रूपमा वैकुण्ठको बादशाही दिनुहुन्छ, परमशिक्षक बनेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ र परमसद्गुरु बनेर मुक्ति जीवन मुक्तिको बाटो देखाउनुहुन्छ। त्रिदेवका रचयिता ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना र शंकरद्वारा विनाशको कार्य गराउनुहुन्छ। तर परमात्मा त जन्म-मरणको चक्रबाट अलग, देह-मुक्त, शारीरिक आकृति रहित ज्योतिस्वरूप हुनुहुन्छ। शिव ज्योति विन्दू हुनुहुन्छ, जसलाई बृहत् आकृति अर्थात् स्त्रीलिङ्ग र पुलिङ्ग भन्दा भिन्न “ज्योतिर्लिङ्ग” नामका प्रतिमा मन्दिरहरूमा विराजमान गराइएका हुन्छन्। ती शिव नै पतिहरुका पनि पति हुन्।त्यसैले उनलाई पति परमेश्वर पनि भनिन्छ। उस एक शिवलाई बुद्धिमा पावनकारी स्मृतिले धारण गर्नु, उसैमा मन लगाउनु उसैसँग प्रीति जोड्नु नै “योग” हो। जसद्वारा नारी “शिव शक्ति” बन्न सक्छ। यदि ऊ अबला छ भने पनि सबला बन्न सक्छ। यही लक्ष्यद्वारा नै त्यही नारीबाट श्रीलक्ष्मी बन्न सक्छ। उनै ज्ञानेश्वरको ज्ञानद्वारा नै नारी विद्या दायिनी सरस्वती बन्न सक्छिन्। हे माता! अब तिमी शिवसंग मनको प्रीत जोडेर, बुद्धिको लगन लगाएर अर्थात् शिवको स्मृतिलाई धारण गरेर “शिवशक्ति” बन। यस विधिद्वारा स्वयंको र जगको कल्याण गर्नेवाली जगतजननी बन।